Techie IT
  • सोमबार, जेठ १८, २०८३ / Monday, June 1, 2026
गृहपृष्ठसमाचारनदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता


राँझा (बाँके), १८ जेठः जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबारमात्रै कोहलपुर नगरपालिका–७ लखनहवा र बैजनाथ गाउँपालिका–२ जब्दहवा क्षेत्रमा अवैध रूपमा माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानीमा संलग्न तीन सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले एक थान जेसिबी, एक थान टिपर र एक थान ट्याक्टर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरी उपरीक्षक जिसीले बताउनुभयो । नदीजन्य पदार्थको अवैध रूपमा उत्खनन र ढुवानी भइरहेको जनगुनासोका आधारमा जिल्ला प्रहरी कार्यालयले प्राकृतिक स्रोत तथा साधनको अवैध दोहन रोक्न नियमित अनुगमन तथा निगरानीलाई निरन्तरता दिँदै आएको उहाँको भनाइ छ ।



तपाईको प्रतिक्रिया