Techie IT
  • बिहीबार, जेठ २१, २०८३ / Thursday, June 4, 2026
गृहपृष्ठसमाचारकुरुवाघर सञ्चालनपछि प्रसूति र कुरुवा लाभान्वित

कुरुवाघर सञ्चालनपछि प्रसूति र कुरुवा लाभान्वित


बलेवा (बागलुङ), २० जेठः गलकोट नगरपालिका र जैमिनी नगरपालिकाको नगर अस्पतालमा निर्माण गरिएको कुरुवाघर सञ्चालनमा आएपछि प्रसूति र कुरुवा लाभान्वित भएका छन् । प्रसूति सेवा लिन आउनेका कुरुवालाई निःशुल्क बस्न सहज होस् भन्ने हेतुले उक्त प्रतिक्षाघर बनाइको थियो । प्रतिक्षाघर निर्माणपछि बिरामीका कुरुवा तथा आफन्तलाई सहज भएको छ ।

प्रतीक्षा घरमा बसेपछि चिकित्सक र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी भएपछि सुत्केरीहरु सुरक्षित भएका छन् । हेलिकप्टरबाट उद्धार गरेर पठाउने समस्या हटेको छ । प्रतीक्षा घर बनेपछि सेवाग्राही र उनीहरुका कुरुवालाई सहज वातावरण सिर्जना भएको जैमिनी नगर अस्पतालका प्रमुख डा सुजन शर्माले बताउनुभयो ।

ती दुवै प्रतिक्षा घर निर्माणका लागि फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले रु चार÷चार लाख तथा नगरपालिकाले रु छ लाखका दरले रकम उपलब्ध गराएको थियो । गलकोटको प्रतिक्षा घरमा एकैपटक तीन परिवार वा तीन जनाका कुरुवा बस्न सक्छन् भने जैमिनीमा दुई परिवार बस्न मिल्नेछ ।

त्यहाँको ग्रामीण क्षेत्रबाट प्रसूति व्यथा हुनु एक दिनअघि नै गर्भवती स्वास्थ्य संस्थामा पुग्नुपर्ने भएकाले त्यस समयमा आर्थिक समस्या भोग्न नपरोस् भनी नगर अस्पताल र स्वास्थ्य चौकीमा यस्ता कुरुवा निर्माण गरिएको संस्थाका अनुगमन अधिकृत सुजन पौडेलले बताउनुभयो । गत असोजदेखि शल्यक्रिया सेवा सुरु गरिएको गलकोट नगर अस्पतालमा अहिलेसम्म १५० महिलाले प्रसूति सेवा लिएका छन् । त्यस अवधिमा ३७ जनाको शल्यक्रिया भएको छ । ती सबैले सुत्केरी हुनुपूर्व र सुत्केरीपछि कुरुवाघरको सेवा लिएका छन् । अस्पताल प्रशासनका अनुसार यहाँ ७७ जना सुत्केरीका आफन्तले कम्तीमा एक रात बसेर घर फर्केका छन् ।

कतिपयले यहाँ सात दिनसम्म पनि सेवा लिइएको पाइएको छ । अघिल्लो आर्थिक वर्ष ८० जना सुत्केरी गराएको गलकोट नगर अस्पतालमा यस आवमा १५० बढीले सेवा लिइसकेको अस्पतालका प्रमुख डा राजेश पौडेलले बताउनुभयो । धौलागिरि अस्पताल पछिको धेरै सेवा दिने र धेरै सेवाग्राही आउने अस्पतालमा यो सूचीकृत छ । परियोजनाले जैमिनी नगरपालिकाको कुश्मीसेरा अस्पतालमा पनि प्रतीक्षाघर बनाएको छ ।

यहाँ अघिल्लो वर्ष २८ जनाले प्रसूति सेवा लिएका थिए । यसअघि निसीखोला, बडिगाड, काठेखोला, बरेङ र ताराखोलामा साझेदारीमा प्रसूति प्रतीक्षा घर बनिसकेका छन् । निसीखोलाको बोहोरागाउँ स्वास्थ्यचौकीमा वर्षमा १२० जनासम्म गर्भवती र कुरुवाले उक्त घर उपयोग गरेका छन् । जैमिनीमा बनेको प्रतीक्षा घरको केही दिनअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो । जैमिनीलाई बालमैत्री बनाउने अभियानमा आएका मुख्यमन्त्रीले नगर अस्पतालको अनुगमन पनि गर्नुभयो । उहाँले प्रतिक्षाघरले महिलाको स्वास्थ्यमा राम्रो प्रभाव पर्ने भन्दै बालबालिकाको सुरक्षित जन्मन पाउने अधिकार पनि सुरक्षा भएको बताउनुभयो ।



तपाईको प्रतिक्रिया