‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
धरान (सुनसरी), २२ जेठः धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा निर्माणाधीन ज्येष्ठ नागरिक उद्यान नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, ग्रामीण परिवेश झल्काउने संरचना, सांस्कृतिक सामग्री तथा प्राकृतिक सौन्दर्यका कारण उद्यानले दैनिक आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न थालेको छ । ज्येष्ठ नागरिकलाई लक्षित गरी निर्माण भइरहेको यस उद्यानमा अपाङ्गतामैत्री संरचनासहित आरामदायी, सुरक्षित र सहज वातावरणको व्यवस्था गरिएको छ । उद्यान आसपासमा श्रम संस्कृति उद्यानसहित दर्जनौँ उद्यान निर्माण भइसकेका छन्, जहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने गरेको छ ।
यसले धरानको पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्याएको छ । धनकुटाको छथर जोरपाटीबाट परिवारसहित धरान घुम्न आउनुभएकी रमिला राई ज्येष्ठ नागरिक उद्यान पुग्नुभयो । अवलोकनपछि उहाँले ज्येष्ठ नागरिकका लागि यस्तो सुविधासम्पन्न उद्यान निर्माण हुनु खुसीको विषय भएको बताउनुभयो । “हामीजस्ता बूढाबूढीका लागि यस्तो उद्यान बनेकामा धेरै खुसी लागेको छ । हिँड्न सजिलो, बस्न मिल्ने र शान्त वातावरण भएकाले यहाँ समय बिताउन निकै रमाइलो लाग्यो”, उहाँले भन्नुभयो, “पहिले झाडीले ढाकिएको घना जङ्गल रहेको स्थानमा अहिले सुन्दर उद्यान निर्माण भएको देख्दा निकै खुसी लागेको छ ।
उद्यानभित्र खरले छाइएका र कमेरो माटोले लिपिएका आकर्षक साना घर निर्माण गरिएका छन् । ग्रामीण परिवेश झल्काउने यी संरचनाले उद्यानको सौन्दर्यलाई थप मनमोहक बनाएको छ । साथै उद्यानभित्र आकर्षक पोखरीसमेत निर्माण गरिएको छ । पोखरीले उद्यानको प्राकृतिक आकर्षणलाई अझ बढाएको छ । निर्माण समितिका भूपू सैनिक इन्जिनियर दीपेन्द्र राईका अनुसार उद्यानको आन्तरिक आर्किटेक्चरल तथा संरचनागत डिजाइन थ्रीडी मोडलिङका आधारमा तयार गरिएको हो । सैनिक जीवनमा हासिल गरेको अनुभवलाई यस परियोजनामा उपयोग गरिएको उहाँले बताउनुभयो । श्रमदान र दाताको सहयोगमा निर्माण भइरहेको उद्यानमा प्राप्त सुझावअनुसार संरचनामा आवश्यक परिमार्जन गर्दै अन्तिम रूप दिइँदै लगिएको उहाँको भनाइ छ । उद्यान विशेषगरी ज्येष्ठ नागरिकको शारीरिक अवस्था र सहजतालाई ध्यानमा राखेर बनाइँदै छ ।
बस्नका लागि चौतारा, विश्रामस्थल तथा छोटो दूरीमै आराम गर्न सकिने संरचना निर्माण गरिएका छन् । त्यसैगरी, हिँडडुलमा सहजता हुनेगरी अपाङ्गतामैत्री पैदलमार्ग निर्माण गरिएको छ । ह्वीलचेयर प्रयोगकर्ताका लागि पनि अनुकूल संरचना तयार पारिएको छ । उद्यानभित्र एकतर्फी प्रवेश र अर्कोतर्फ सहज निकास हुने आवागमन प्रणालीसमेत समावेश गरिएको इन्जिनियर राईले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै हल्का शारीरिक अभ्यास तथा मनोरञ्जनका सामग्री राखिने व्यवस्था गरिएको छ ।
प्राथमिक उपचारका लागि मेडिकल कक्ष निर्माण गरिएको छ भने विश्रामका लागि आरामघर निर्माणाधीन अवस्थामा छन् । केही संरचनाको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी संरचनाको काम क्रमशः सम्पन्न गर्दै लगिने उहाँले बताउनुभयो । दाताहरूको सहयोगमा निर्माण गरिएका साना घरमा विभिन्न जातजातिको संस्कार, संस्कृति र पहिचान झल्काउने सिलाम साक्मादेखि चिन्दोसम्मका सांस्कृतिक सामग्री तथा प्रतीकहरू राखिएका छन् । ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, ग्रामीण परिवेश झल्काउने संरचना तथा सांस्कृतिक सामग्रीको समायोजनले निर्माणाधीन उद्यानलाई धरानको नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरेको छ ।
ज्येष्ठ नागरिक उद्यान नजिकै श्रम संस्कृति उद्यान निर्माण गरिएको छ । सोही क्षेत्रभित्र एसडिएस रक गार्डेन, एसएनएस चौतारी, एसडिबी रोज गार्डेन, झाँक्री दह, श्रमदान चौतारी, आरा धरान तथा मौनता क्षेत्र (ग्रीन बुद्ध) निर्माण भइसकेका छन् । साथै सिङ्गापुर पुलिस, ब्रिटिस आर्मी र भारतीय सेनाका भूपू सैनिकहरूले गोर्खा चौतारी निर्माण गरेका छन् । श्रमबाट प्रेरित कलाकृति तथा श्रमको झल्को दर्शाउने संरचनाले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ । अहिले दैनिक रूपमा हजारौँ पर्यटक ज्येष्ठ नागरिक उद्यान तथा आसपासका उद्यान अवलोकन गर्न आउने गरेको स्थानीय व्यवसायी दिनेश मगरले बताउनुभयो । यस क्षेत्रमा दर्जनौँ आकर्षक उद्यान निर्माण गरिएका छन् । पहिला आवागमन शून्य जस्तै रहेको यस ठाउँमा अहिले दैनिक सयौँ पर्यटक घुम्न आउँछन् ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया