सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु
धरान (सुनसरी), २८ जेठः सिटी सफारी सञ्चालनलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउन सुनसरीमा सुरक्षित सिटी सफारी चालक अभियान सुरु गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले बुधबार क्युआर कोडसहितको ‘सुरक्षित चालक पोसाक’ वितरण गर्दै अभियानको औपचारिक शुभारम्भ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले इटहरीमा आयोजित कार्यक्रममा ३०० जना सिटी सफारी चालकलाई उक्त पोसाक वितरण गर्नुभयो ।
पछिल्ला वर्षहरूमा इटहरी, धरान, विराटनगरलगायत पूर्वका प्रमुख सहरमा ई–रिक्सा (सिटी सफारी) को सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । तर, दर्ता, रुट निर्धारण तथा सञ्चालनसम्बन्धी स्पष्ट कानुनी र नीतिगत व्यवस्था नहुँदा यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । प्रहरीका अनुसार चालकको पहिचान सुनिश्चित गर्ने, यात्रुमा विश्वास अभिवृद्धि गर्ने तथा दुर्घटना र आपराधिक गतिविधिको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा सिटी सफारीसँग सम्बन्धित दुई हजार ७३२ वटा सवारी दुर्घटना भएका छन् ।
ती दुर्घटनामा ११६ जनाको मृत्यु भएको छ भने तीन हजार ९७० जना घाइते भएका छन् । आर्थिक वर्ष २०७८/७९ मा २२, २०७९/८० मा २४, २०८०/८१ मा ३६ तथा २०८१/८२ मा १५ जनाको मृत्यु भएको थियो । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म थप १९ जनाले ज्यान गुमाइसकेका छन् । घाइतेको सङ्ख्या पनि उच्च रहेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७८/७९ मा ६६८, २०७९/८० मा ७६२, २०८०/८१ मा ५९४ तथा २०८१/८२ मा ७५१ जना घाइते भएका थिए । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एक हजार १९५ जना घाइते भएका छन् ।
तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा ४५३, २०७९/८० मा ५५२, २०८०/८१ मा ४४६ तथा २०८१/८२ मा ५८१ वटा दुर्घटना भएका थिए । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ७०० दुर्घटना भइसकेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायब महानिरीक्षक घिमिरेले बढ्दो सवारी चापसँगै ट्राफिक अनुशासन र सडक सुरक्षाको महत्व अझ बढ्दै गएको बताउनुभयो ।
सुरक्षित चालक नै सुरक्षित यात्राको आधार भएको उल्लेख गर्दै उहाँले ट्राफिक नियमको पूर्ण पालना गर्न तथा जिम्मेवार ढङ्गले सवारी सञ्चालन गर्न चालकलाई आग्रह गर्नुभयो । उहाँले क्युआर कोडसहितको चालक पोसाकले चालकको पहिचान स्पष्ट बनाउन सहयोग पुग्ने र यात्रुलाई सुरक्षित यात्राको अनुभूति दिलाउने विश्वास व्यक्त गर्नुभयो । प्रहरीका अनुसार मोरङबाट सुरुआत गरिएको यो अभियान क्रमशः कोशी प्रदेशका अन्य जिल्लामा विस्तार गरिनेछ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया