पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा
एजेन्सी। भेनेजुएलामा ट्रम्प प्रशासनले गरेको सैन्य हस्तक्षेपलाई लिएर कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोले गरेको कडा आलोचनाले वासिङ्टन र बोगोटाबीचको सम्बन्धलाई अभूतपूर्व तनावमा पुर्याएको छ।
यस हस्तक्षेपलाई पेट्रोले ल्याटिन अमेरिकी सार्वभौमसत्तामाथिको ‘घृणित उल्लङ्घन’ भन्दै सन् १९३७ मा नाजी जर्मनीले स्पेनको गुएर्निकामा गरेको कार्पेट बमबारीसँग तुलना गरेका छन् ।
अमेरिकाको ऐतिहासिक रूपमा निकट सहयोगी रहँदै आएको कोलम्बियाबाट यस्तो तीव्र प्रतिक्रिया आउनु असामान्य मानिएको छ । विगत तीन दशकदेखि लागुऔषध तस्करी नियन्त्रण, विद्रोही समूहविरुद्धको कारबाही र ग्रामीण विकासका क्षेत्रमा संयुक्त राज्य अमेरिका र कोलम्बियाबीच गहिरो सहकार्य हुँदै आएको छ । यही सहकार्यअन्तर्गत वासिङ्टनले कोलम्बियालाई अर्बौं डलरको सहायता प्रदान गरेको छ ।
तर राष्ट्रपति पेट्रोले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको अमेरिकी नियन्त्रणलाई खुलेर विरोध गरेपछि उहाँ र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शब्दयुद्ध चर्कियो । ट्रम्पले कोलम्बियामा अमेरिकी सैन्य कारबाही ‘उचित हुन सक्ने’ टिप्पणी गरेपछि पेट्रोले राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न जनतालाई सडकमा उतार्न आह्वान गरे। त्यसको प्रत्युत्तरमा हजारौँ कोलम्बियालीहरू सार्वजनिक चोकहरूमा भेला भई ‘स्वतन्त्र र सार्वभौम कोलम्बिया अमर रहोस्’ भन्ने नारा लगाए ।
तर सबैलाई चकित पार्दै विरोध प्रदर्शनकै दिन राष्ट्रपति पेट्रोले आफ्नो अघिल्लो कडा अभिव्यक्ति नरम पार्दै राष्ट्रपति ट्रम्पसँग भएको मैत्रीपूर्ण टेलिफोन वार्ताको जानकारी दिए। उनले दुवै सरकारबीच प्रत्यक्ष संवाद पुनःस्थापित गर्न आग्रह गरेको र संवाद नहुँदा द्वन्द्वको खतरा बढ्ने चेतावनी दिएको बताए ।
राष्ट्रपति ट्रम्पले पनि सामाजिक सञ्जालमार्फत पेट्रोसँगको कुराकानीलाई ‘सम्मानजनक’ भन्दै उनलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिएका छन्। लामो समयदेखि एक–अर्काप्रति कठोर टिप्पणी गर्दै आएका यी दुई नेताबीच अचानक देखिएको शान्तिले व्यावहारिक स्वार्थका लागि वैचारिक मतभेद पन्छाउन सक्ने संकेत दिएको विश्लेषकहरू बताउँछन् ।
कोलम्बियाका लागि अमेरिकी सहयोग अझै पनि विद्रोही र लागूऔषधी तस्करविरुद्धको लडाइँमा अत्यन्त महत्त्वपूर्ण छ भने अमेरिकाका लागि कोलम्बिया क्यारिबियन क्षेत्रमा लागूऔषध रोकथामको प्रमुख आधार बनेको छ । वासिङ्टनस्थित थिंक ट्यांकका विज्ञहरूका अनुसार कोलम्बियाली कूटनीतिज्ञ र निजी क्षेत्रले पनि सम्बन्ध पूर्णरूपमा बिग्रन नदिन सक्रिय भूमिका खेलेका छन् ।
यसअघि राष्ट्रपति ट्रम्पले पेट्रोलाई ‘अन्तर्राष्ट्रिय लागुऔषध नेता’ भन्दै कडा शब्द प्रयोग गरेका थिए । कोलम्बियाली अधिकारीहरूको अमेरिकी भिसा रद्द गर्ने, आर्थिक सहायता रोक्ने र निर्यातमा दण्डात्मक शुल्क लगाउने धम्कीसमेत दिइएको थियो । यसले कोलम्बियामा अमेरिकी हस्तक्षेपको सम्भावनालाई लिएर गम्भीर चिन्ता बढाएको थियो ।
यद्यपि विज्ञहरू लोकतान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति पेट्रोविरुद्ध प्रत्यक्ष अमेरिकी सैन्य कारबाही हुने सम्भावनालाई कम आँक्छन् । त्यसबीच कोलम्बियाका रक्षा र कूटनीतिक अधिकारीहरूले सहकार्य जारी रहने सन्देश दिँदै तनाव कम गर्न प्रयास गरेका छन् ।
अन्ततः राष्ट्रपति पेट्रोले वार्तामार्फत शान्ति नै प्राथमिकता भएको स्पष्ट पार्दै नागरिकहरूलाई ढुक्क हुन आग्रह गरे। हाल उनको सम्भावित ह्वाइट हाउस भ्रमणको तयारी अघि बढिरहेको छ, यद्यपि त्यसका लागि औपचारिक कूटनीतिक प्रक्रिया अझै पूरा हुन बाँकी छ ।
ताजा अपडेट
- गोरखा-१ बाट उम्मेदवारी दिने सुदन गुरुङको घोषणा
- दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
- नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन
- सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल
- ग्लोबल छनोटअघिको अभ्यास खेलमा स्कटल्यान्डसँग नेपाल पराजित
- झुम्का कारागारबाट फरार खरेल बम काण्डमा पक्राउ
- निर्वाचन केन्द्रित बन्दै एमाले, जनसंगठनलाई जनमत सिर्जनामा लाग्न निर्देशन
- विवाद चुलिएपछि खेलकुद मन्त्री गुप्ताले स्थगित गरे अमेरिका भ्रमण
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- बैतडीबाट एमालेका दामोदर भण्डारी एकल सिफारिस
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- आज १३ औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस, विभिन्न कार्यक्रम मनाइँदै
- प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच आज सिंहदरबारमा वार्ता
- नेपाललाई युक्रेन बनाउने षड्यन्त्र भइरहेको झलनाथको चिन्ता, सबै कम्युनिस्ट एक हुन् आह्वान
- गरिबीले रोक्न नसकेको सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना


तपाईको प्रतिक्रिया