Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिप्रधानमन्त्री कार्कीले दुर्गा प्रसाईँलाई दिइन् बुद्धको फोटो उपहार

प्रधानमन्त्री कार्कीले दुर्गा प्रसाईँलाई दिइन् बुद्धको फोटो उपहार


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियान-दलका संरक्षक दुर्गा प्रसाईंबीच भेटवार्ता भएको छ । उनीहरुबीच शान्ति, निर्वाचन र माग–सम्बोधनलाई केन्द्रमा राखेको कुराकानी भएको जनाइएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्रीले  मुलुकमा शान्ति र अमनचैन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एकमात्र माध्यम निर्वाचन रहेकाले यसमा सहयोग गर्न प्रसाईंलाई आग्रह गरिन् ।

प्रधानमन्त्री कार्कीले अब मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने भन्दै आफ्ना माग र असन्तुष्टिहरु शान्तिपूर्ण माध्यमबाट राख्न पनि आग्रह गरिन् । यस्तै उनले जनतामा गएर आफ्नो मुद्दा अनुमोदन गराउन समेत प्रसाईंलाई सुझाइन् ।

नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्ने माघ अघि सार्दै आएका प्रसाईंलाई जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प बताएकी हुन् । मुलुक निर्वाचनमा होमिइसकेकाले यो अवसरको प्रसाईंले पनि उपयोग गर्नुपर्ने उनको भनाइ थियो ।

‘धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति सुव्यवस्थामा फर्काएका छौँ ,’ उनले भनिन्, ‘सबै खालका संशयहरूलाई चिर्दै मुलुक पूर्णरुपमा निर्वाचनको माहौलमा होमिएको छ। यस्तो बेलामा सबै पक्षबाट जिम्मेवार भूमिकाको अपेक्षा हामीले गरेका छौँ। यो देश मेरो पनि हो भन्ने सोच राखेर सबै पक्ष जिम्मेवार बनौँ।’

भेटका क्रममा प्रधानमन्त्री कार्कीले शान्ति कायम राख्ने सन्देशका रूपमा भगवान् गौतम बुद्धको चित्र उपहार दिएकी थिइन् । साथै, भ्रष्टाचार नियन्त्रण र शोषित–पीडितलाई न्याय दिलाउने दिशामा सरकारले आधार तयार पार्दै गएको उल्लेख गर्दै उठाइएका जायज मागबारे गृहकार्य भइरहेको बताइन् । ‘नतिजा रातारात नदेखिए पनि प्रक्रिया अघि बढेको छ’, उनले भनिन्, ‘कतिपय मागको सम्बोधनका लागि थप छलफल गरौँ ।’

यसअघिको भेटमा दुर्गा प्रसाईंले प्रधानमन्त्रीसँग आफूले बाहिर सार्वजनिक रूपमा बोलेका केही अभिव्यक्तिप्रति माफी माग्दै दुर्गा माताको मूर्ति उपहार दिएका थिए । उनले प्रधानमन्त्रीलाई ‘दुर्गा माताको रूप धारण गरेर दृढतापूर्वक काम गर्न’ आग्रह गर्दै सरकारको साथमा आफूहरू उभिने प्रतिबद्धता जनाएका थिए ।



तपाईको प्रतिक्रिया