Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिविशेष महाधिवेशन विवाद, देउवा निवासमा छलफल

विशेष महाधिवेशन विवाद, देउवा निवासमा छलफल


काठमाडौं । नेपाली कांग्रेसभित्र जारी आन्तरिक असहमति अन्त्य गर्ने प्रयासस्वरूप पार्टी संस्थापन, विशेष महाधिवेशन पक्ष र शेखर कोइराला समूहबीच वार्ता सुरु भएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा केही बेरअघि वार्ता प्रारम्भ भएको हो। वार्तामा संस्थापन समूहका तर्फबाट कार्यबाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाण सहभागी छन्। विशेष महाधिवेशन पक्षबाट नेता प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे उपस्थित छन् भने डा. शेखर कोइराला समूहबाट जीवन परियार र डा. मिनेन्द्र रिजाल सहभागी भएका छन्।

यसअघि सोमबार दिउँसो नेता शेखर कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मासँग छलफल गर्दै वार्ताको वातावरण बनाउन समिति गठन गर्ने प्रस्ताव गरेका थिए।

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै आएका छन्। तर सभापति देउवासहितको संस्थापन समूहले उक्त मागलाई दबाउन खोजेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन सुरु भएको हो। अहिलेसम्म बहुमत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी भइसकेका छन्, जसका कारण संस्थापन पक्ष दबाबमा परेको बताइन्छ।

आइतबार विशेष महाधिवेशनको उद्घाटन भई सोमबार बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा केन्द्रीय समिति विघटनको प्रस्ताव समेत पेस गरिएको छ। बहुमत केन्द्रीय सदस्य विशेष महाधिवेशनको पक्षमा रहेको स्पष्ट भएपछि संस्थापन समूह वार्ताका लागि तयार भएको हो।

संस्थापन पक्षले विशेष महाधिवेशनप्रति चासो देखाएपछि सोमबारसम्म भनिएको महाधिवेशनको समयसमेत लम्ब्याइएको छ। यसैबीच कांग्रेसले आजका लागि केन्द्रीय कार्यसमिति बैठक पनि बोलाएको छ। बिहान ११ बजे पार्टी मुख्यालय सानेपामा बस्ने भनिएको बैठकमा विशेष महाधिवेशनमा सहभागी केन्द्रीय सदस्यहरूले सहभागिता नजनाउने स्पष्ट पारेका छन्।



तपाईको प्रतिक्रिया