Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिकांग्रेसबारे ओली : ‘कसैले सडकमा बहुमत पुर्‍याएँ भनेकै भरमा बहुमत हुँदैन’

कांग्रेसबारे ओली : ‘कसैले सडकमा बहुमत पुर्‍याएँ भनेकै भरमा बहुमत हुँदैन’

सामाजिक सञ्जालमा आक्रामक हुन निर्देशन


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस विभाजनतर्फ उन्मुख हुनु मुलुकको लोकतन्त्रका लागि गम्भीर चिन्ताको विषय भएको बताएका छन् । पार्टीको विधान, विधि र संस्थागत प्रक्रियालाई बेवास्ता गर्दै सडकको भीडलाई बहुमत ठान्ने प्रवृत्तिले लोकतन्त्र नै संकटमा पर्ने उनको चेतावनी छ ।

शुक्रबार काठमाडौंमा आयोजित एमालेको राजधानी प्रदेश कमिटी घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विशेष महाधिवेशनको नाममा पार्टी विधान लत्याउने र सडकबाट बहुमत प्रमाणित गर्न खोज्ने अभ्यासले समाजलाई अराजकतर्फ लैजाने षड्यन्त्र भइरहेको आरोप लगाए ।
‘बैठक कसले बोलाउने, महाधिवेशन कसले बोलाउने भन्ने स्पष्ट विधि हुन्छ । बहुमत–अल्पमत टुंग्याउने प्रक्रिया हुन्छ,’ उनले भने, ‘कसैले सडकमा बहुमत पुगेको छ भनिदिँदैमा बहुमत पुग्छ र ?’

कांग्रेस विभाजनको अवस्थामा पुग्नु आफूलाई आश्चर्य र पीडादायी लागेको उल्लेख गर्दै ओलीले लोकतन्त्र, संविधान र कानूनी शासन कमजोर बनिरहेको अवस्थामा कांग्रेस जस्तो पार्टी आन्तरिक झगडामा अल्झिनु दुर्भाग्यपूर्ण भएको बताए ।‘लोकतन्त्रका लागि लड्नुपर्ने बेला कांग्रेस पार्टी फुटाउने स्थितिमा पुगेको छ,’ उनले प्रश्न गरे, ‘यो कांग्रेसका नेता–कार्यकर्ताका लागि चिन्ताको विषय होइन र ?’

अध्यक्ष ओलीले एमालेभित्र रहेका सानातिना असन्तुष्टि थाती राखेर एकताबद्ध हुन कार्यकर्तालाई आग्रह गरे । ‘अहिले असन्तुष्टि संकलन गरेर चाङ लगाएर हिँड्ने बेला होइन,’ उनले भने, ‘देश, जनता, लोकतन्त्र, शान्ति र सुशासनका लागि दिल खोलेर लड्ने बेला हो ।’

सामाजिक सञ्जालमा आक्रामक हुन निर्देशन

कार्यक्रममै अध्यक्ष ओलीले आगामी निर्वाचनलाई लक्षित गर्दै एमाले कार्यकर्तालाई सामाजिक सञ्जालमा सक्रिय हुन विशेष निर्देशन दिए ।
‘अबको लडाइँ सामाजिक सञ्जालबाट पनि लड्नुपर्छ,’ उनले भने, ‘दिनमा कम्तीमा १० वटा मेसेज गर्नुस्, १० वटा स्टाटस लेख्नुस् । राम्रो कामको प्रशंसा गर्नुस्, लाइक थिच्न कञ्जुस्याइँ नगर्नुस् ।’

अहिले विश्राम गर्ने समय नभएको उल्लेख गर्दै उनले ‘४० कटेपछि रमाऔंला’ गीतको उदाहरण दिए । ‘अहिले थकाइ मार्ने बेला होइन, चुनावपछि थकाइ मारौंला,’ उनले भने ।

आगामी प्रतिनिधिसभा निर्वाचन जुनसुकै महिनामा भए पनि एमालेले ‘स्विप आउट’ गर्ने दाबी गर्दै ओलीले सानो अन्तरले होइन, ठूलो मतान्तरले जित्नुपर्नेमा जोड दिए । एमाले नै देशको सबैभन्दा सशक्त, संगठित र एकीकृत पार्टी भएको दाबी गर्दै उनले भने, ‘वडा–टोलसम्म संगठन भएको पार्टी अरू कसैको छैन । उम्मेदवार खोज्न हात उठाउनु पर्ने अवस्था अरूको छ ।’आगामी चुनावपछि एमाले प्रमुख दल बन्ने उनको विश्वास छ ।

 



तपाईको प्रतिक्रिया