Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिलहानमा सहिदलाई माल्यार्पण गर्दै सुरू भयो बालेनको चुनावी अभियान

लहानमा सहिदलाई माल्यार्पण गर्दै सुरू भयो बालेनको चुनावी अभियान


लहान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आफ्नो चुनावी अभियान मधेश प्रदेशको लहानबाट सुरु गरेका छन् ।

वरिष्ठ नेताका रूपमा रास्वपामा प्रवेश गरेका शाहले आज सोमबार बिहान मधेस आन्दोलनका सहिदहरूलाई माल्यार्पण गर्दै आफ्नो चुनावी अभियान सुरू गरेका हुन्।

झापा-५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरूद्ध चुनाव उठ्न लागेका बालेनले आइतबार दिउँसो मेयर पदबाट राजीनामा दिएका थिए। त्यसलगत्तै रास्वपाको पार्टी कार्यालय ‘घन्टीघर’ पुगेका बालेन वरिष्ठ नेताको पदभार ग्रहण गरेर साँझको फ्लाइटमा जनकपुर पुगेका थिए।

उनले सोमबारबाट आफ्नो राजनीतिक अभियान सुरू गरेका छन्। त्यस क्रममा बिहानै मधेस आन्दोलन क्रममा सहिद भएकाहरूको सम्झनास्वरूप लहानमा निर्माण गरिएको मधेसी सहिद पार्कमा गएर माल्यार्पण गरे।

आजै जनकपुरमा रास्वपाको सभा पनि छ, जसमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह सहभागी हुँदै छन्।

पुस १३ गते रास्वपा सभापति लामिछानेसँग सातबुँदे सहमति हस्ताक्षर गरेर पार्टी प्रवेश गरेका बालेन पहिलो पटक कार्यालय छिरेका हुन्। तर उनी १५ मिनेटभन्दा बढी कार्यालयमा बसेनन्।

स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरको मेयर जितेका बालेनले रास्वपाबाट फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका हुन्। उनले आइतबारैदेखि लागू हुने गरी उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका थिए।

 



तपाईको प्रतिक्रिया