१७ भदौ, काठमाडौं । १० भदौमा रसुवामा आएको भीषण बाढी र पहिरोको प्रभावसँगै विभिन्न राजमार्ग अवरुद्ध हुँदा स्थल यातायात थप प्रभावित छन् ।
स्थलमार्गमा समस्या हुँदा हवाईमार्ग एकमात्र विकल्प रहने गरेको छ । लामो दुरी तय गर्न हवाई यात्राको विकल्प पनि कमै हुन्छ । हालैको बाढीपहिरोले राजमार्ग अवरुद्ध हुँदा हवाई यात्रामा चाप बढिरहेको छ ।
यात्रु चाप थेग्न वायुसेवा कम्पनीहरूलाई भ्याइ नभ्याइ छ । बजार हिस्सा, जहाज संख्या र यात्रु चापका हिसाबमा मुलुककै सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले राजमार्गमा स्थल यातायात आवागमन सहज नहुन्जेल हवाई भाडा नबढाउने घोषणा गरेको छ ।
बुद्धले हाल दैनिक १० हजारभन्दा बढी यात्रुलाई गन्तव्य पुर्याइरहेको छ । रसुवा बाढीपछि उडान संख्यासँगै यात्रु चाप पनि ह्वात्तै बढेको कम्पनीको भनाइ छ ।
रसुवा बाढी प्रभावले राजमार्गहरूमा यातायात आवागमन सहज हुन सकेको छैन,’ बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले अनलाइनखबरसँग भने, ‘अब राजमार्गहरू सहज नहुन्जेलसम्म हवाई भाडा बढाउँदैनौं, वर्तमान भाडादर जति छ, त्यतिमै यात्रुलाई गन्तव्य लागिरहन्छौं ।’
बस्नेतले भाडा वृद्धि नगर्ने भन्नुको अर्थ सस्तो भाडादरमै उडान गराइरहने हो । काठमाडौंबाट कुनै पनि गन्तव्य जान बुद्धले सबैभन्दा सस्तो दरमा दिएको भाडामै यात्रु आवागमन गराइरहने जनाएको छ ।
‘सस्तो भाडा अर्थात् न्यूनतम भाडादरमा उडाइरहने हाम्रो घोषणाले कम्पनी चालु आर्थिक वर्ष ६० करोड रुपैयाँभन्दा बढी घाटामा जाने निश्चित छ,’ कार्यकारी अध्यक्ष बस्नेतले भने, ‘तर, देश नै विपत्तिमा परेका बेला हाम्रातर्फबाट नि:स्वार्थ योगदान स्वरूप यस्तो निर्णय गरेका हौं । सबै सहज भएपछि अर्को वर्ष नाफा कमाउँला, यसपालि देशका लागि योगदान गर्छौं ।’
रसुवा बाढीपछि त्रिशूली नदीले पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा गएको पहिरोपछि राजधानी काठमाडौं जोड्ने मुख्य ‘लाइफलाइन’ अवरुद्ध छ । त्यस्तै वैकल्पिक राजमार्गहरू त्रिभुवन राजपथ र कान्ति लोकपथमा आवागमन चाप परेको छ ।
‘प्राकृतिक विपत्तिले सडकमा समस्या हुँदा एउटा हवाई सेतु सिर्जना गर्नुपर्ने अवस्था हामीमाथि परेको छ,’ बस्नेतले भने, ‘त्यसकारण यसपालि राजमार्गहरू सहज नहुन्जेल न्यूनतम भाडादरमै उडान सञ्चालन गरिरहने निर्णय गरेका हौं, विषम परिस्थितिमा जति नै घाटा खाए पनि हाम्रो नैतिकताले भाडा बढाउन दिँदैन ।
बस्नेतका अनुसार सस्तो भाडादरमा उडान गरिरहँदा कम्पनी शतप्रतिशत घाटामा जान्छ । ‘कुनै वर्ष घाटा खान्छौं, कुनै वर्ष नाफा गर्छौं, भोलिको बिहानी त फेरि सुनौलो भइहाल्छ,’ उनले भने, ‘अहिले राष्ट्रलाई आवश्यकता पर्दा यो विषम परिस्थितिमा नेपाली जनतालाई सेवा पुर्याउनैपर्छ, जसलाई आपत परेको छ, उसको लागि भाडा बढाउनै मिलेन, यो राष्ट्रप्रतिको माया र समर्पण हो, हामीले कम्पनीको नाफामात्र सोचेर भएन, राष्ट्रप्रति सोच्नुपर्यो ।’
दसैंतिहारमा पनि सस्तै भाडादरमा उड्न पाइने
ठूला चाड दसैं र तिहारमा महँगो भाडादरमा मात्र उडान गर्ने गरेको आरोप वायुसेवा कम्पनीहरूमाथि लाग्ने गरेको छ । सामान्यतया असार १५ देखि असोज १५ र पुस एक महिना वायुसेवा कम्पनीका लागि ‘अफ सिजन’ हुने गर्छ । त्यही चार महिना सस्तो भाडादरमा उडानउने गरिन्छ । तर, बाँकी महिना नर्मल भाडामा उडाएर कम्पनी टिकिरहेका हुन्छन् ।
वायुसेवा सञ्चालकहरू भने दसैंतिहारमा काठमाडौंबाट जाने यात्रु चाप धेरै र फर्कंदा एकदमै न्यून हुने कारण भाडादर महँगो हुने गरेको बताउँदै आएका छन् ।
तर, यसपालि दसैंतिहारमा भने बुद्धले सस्तै भाडादरमा यात्रु सेवा उपलब्ध गराउने बताएको छ । बुद्धका कार्यकारी अध्यक्ष बस्नेतले आगामी दसैंतिहारमा पनि अहिलेकै सस्तो भाडादरमा उडान सञ्चालन गरिने जानकारी दिए ।
‘हाम्रो अनुमानमा राजमार्गहरूमा सहज यातायात आवागमन हुन कम्तीमा पनि ६ महिना लाग्ने देखिन्छ,’ बस्नेतले भने, ‘त्यतिन्जेललाई न्यूनतम भाडादरमै उडान गर्छौं र उडान संख्या पनि बढाउँदै जान्छौं ।’
रसुवा बाढीपछि बुद्धले उडान समय पनि मध्यरातसम्मै पुर्याएको छ । प्रत्येक दिनको अन्तिम उडान नै राति ११ बजेसम्म पुग्ने गरेको बुद्धको भनाइ छ ।
राहत सामग्री ढुवानी नि:शुल्क
बुद्ध एयरले रसुवा बाढी प्रभावितका लागि आवश्यक राहत सामग्री विभिन्न गन्तव्य पुर्याउन नि:शुल्क ढुवानी गरिरहेको छ ।
बुद्धले दैनिक हजारौं किलो राहत सामग्री नि:शुल्क ढुवानी गर्दै आएको छ । कम्पनीका अनुसार आज बुधबार ६ हजार ४ सय २० किलो राहत सामग्री विभिन्न गन्तव्यमा नि:शुल्क ढुवानी गरिएको छ ।
बुद्धका अनुसार बुधबार भद्रपुरका लागि १ सय ५ किलो, भरतपुर २ हजार ६९, सुर्खेत १ सय २०, धनगढी १ हजार ६ सय ६५, विराटनगर २ सय ७२, भैरहवा २ हजार ४५ र सिमराका लागि १ सय ४१ किलो राहत सामग्री नि:शुल्क ढुवानी गरिएको छ ।
बुद्धसँग हाल ७२ सिट क्षमताका १५ थान ‘एटीआर७२औ५००’ र एक थान ‘एटीआर७२औ६००’ सिरिजका जहाज छन् ।
बुद्धले ती जहाजबाट दैनिक करिब ६ दर्जन उडान गर्दै आएको छ ।
हवाई इन्धन अचाक्ली वृद्धि
हवाई इन्धन भाउ पनि पछिल्लो ७ महिनायता लगभग शतप्रतिशत नै बढेको छ । फेब्रुअरी २०२६ मा प्रतिलिटर १ सय २७ रुपैयाँ रहेको हवाई इन्धन भाउ अगस्टमा आइपुग्दा ९६ प्रतिशत बढेर लिटरको २ सय ४९ रुपैयाँ भएको छ ।
फेब्रुअरीमा काठमाडौं भैरहवा रुटको भाडादर ५ हजार ७ सयबाट १४ प्रतिशत बढेर अगस्टमा ६ हजार ५ सय रुपैयाँ भएको छ ।
साभार : अनलाइनखबर
ताजा अपडेट
- राजमार्ग सहज नहुन्जेल हवाई भाडा नबढ्ने
- रसुवा बाढी : यसरी आइरहेको छ विदेशबाट सहयोग सामग्री
- रसुवा बाढी : बगेर भारत पुगेका नौ शव नेपाल ल्याइयो
- बैतडीमा जिप दुर्घटना हुँदा ७ जना घाइते
- प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तको डीएनए प्रोफाइलिङ सुरु
- श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव
- हामी भनिरहेका छौं- सरकारको साथमा छौं, सरकार भन्छ- हाम्रो मर्जीले गर्छाैं
- प्रचण्डको प्रश्न : प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ यो के तरिका हो
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया