चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरले यस वर्ष मङ्सिरमा राप्ती र नारायणी नदीमा गरिएको अवलोकनका क्रममा नौवटा भाले घडियाल भेटिएको बताए । अवलोकनका क्रममा अघिल्ला वर्षको तुलनामा बढी भाले भेटिनुले संरक्षणमा केही सफलता मिलेको उनको भनाइ छ ।
घडियाल तुलनात्मक रूपमा शान्त रहने र नदी तथा किनार छाडेर धेरै टाढा नजाने स्वभावको हुन्छ । घडियाल संरक्षण गर्ने उद्देश्यले सन् १९७८ देखि चितवन राष्ट्रिय निकुञ्जको कसरामा घडियाल गोही प्रजनन केन्द्र सञ्चालनमा छ । केन्द्रमा घडियालको संरक्षण तथा प्रजनन गर्दै आइएको छ । केन्द्रमा जन्मिएर हुर्काइएका घडियाललाई हरेक वर्ष प्राकृतिक बासस्थानमा छाड्ने गरिएको छ ।
पाँच वर्षसम्म संरक्षण केन्द्रमा राखी आफैँ आहार खोज्न र खान सक्ने अवस्थामा पुगेपछि घडियाललाई नदीमा छाड्ने गरिन्छ । प्राकृतिक बासस्थानबाट अण्डा सङ्कलन गरी केन्द्रमा ह्याचिङ गरिएका तीनदेखि पाँच वर्ष उमेर समूहका करिब १.५ मिटर लम्बाइ पुगेका घडियाल प्राकृतिक बासस्थानमा छोड्न योग्य हुने थापा बताउछन् ।
विशेषगरी चैत–वैशाखमा नदी किनारमा घडियालले पारेका अण्डा सङ्कलन गरी प्रजनन गराउने गरिएको चितवन निकुञ्जको कसरामा रहेको घडियाल गोही प्रजनन केन्द्रकी प्रमुख सुजिता श्रेष्ठ बताउछिन् । नदी किनारका प्रायः पहरिला र घाम लाग्ने स्थानको बालुवा खोस्रेर एकपटकमा १५ देखि ६० वटासम्म अण्डा पार्ने र ती अण्डा सङ्कलन गरी केन्द्रको कृत्रिम ह्याचरीमा बच्चा उत्पादन गर्ने गरिएको उनले बताइन् । उनले भनिन्, “हामीले बेलाबेला यहाँ हुर्काएका घडियाल नदीमा छाड्ने गरेका छौँ । सोमबार कसरास्थित राप्ती नदीमा २० वटा घडियाल छाडियो । यो आर्थिक वर्षमा मात्र ५२ वटा घडियाल प्राकृतिक बासस्थानमा छोडिसकिएको छ ।”
कुन तापक्रममा ह्याच गरियो भन्ने आधारमा घडियालको लिङ्ग निर्धारण हुने उनको भनाइ छ । उनका अनुसार ३०–३२ डिग्री सेल्सियस तापक्रममा ह्याच गरिएका अण्डाबाट भाले घडियाल र कम तापक्रममा ह्याच गरिएका अण्डाबाट पोथी घडियाल जन्मिने गर्छन् । प्रजनन केन्द्रमा विभिन्न उमेर समूहका बच्चा घडियाललाई छुट्टाछुट्टै राख्ने गरिएको छ । केन्द्रमा बच्चा हुर्काउन सजिलो नहुने र बाँच्नेको सङ्ख्या कम हुने उनले बताए ।
प्रजनन केन्द्रमा हुर्काइएका घडियाल सन् १९८१ देखि देशका विभिन्न नदीमा छाड्न थालिएको हो । निकुञ्जले प्राकृतिक वातावरण अनुकूल भएकाले बढी राप्ती र नारायणी नदीमा घडियाल छाड्दै आएको छ । साथै केन्द्रमा हुर्किएका घडियाल सप्तकोसी, बबई, कर्णाली र कालीगण्डकी नदीमा समेत छाडिएको छ । तर अवलोकनका क्रममा राप्ती र नारायणी नदी बढी उपयुक्त देखिएका छन् ।
प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाडिएका घडियालमध्ये थोरैमात्र जीवित रहने गरेको पाइएको छ । नदीमा छाडिएका कतिपय घडियाल हराउने, केही बाढीले बगाएर भारततर्फ पुग्ने तथा केही विभिन्न कारणले मर्ने गरेका छन् । नदी प्रणालीमा रहेका घडियाल माछा मार्न प्रयोग हुने तियारी जालमा अल्झिएर मर्ने समस्या विकराल बन्दै गएको छ । निकुञ्ज र संरक्षणकर्मीले बर्सेनि जालमा बेरिएका घडियालको उद्धार गर्दै आएको श्रेष्ठले बताइन् ।
यस वर्ष मङ्सिरमा गरिएको गोही गणना तथा अवलोकनका क्रममा राप्ती र नारायणी नदीमा जम्मा ३६६ वटा घडियाल भेटिएका छन् । तीमध्ये नौवटा भाले रहेका छन् । अघिल्ला वर्षको तुलनामा भाले घडियालको सङ्ख्या बढ्नु सकारात्मक सङ्केत भएको संरक्षण अधिकृत थापा बताउछन् । थापाका अनुसार प्रजनन केन्द्रमा हुर्केका घडियाल हालसम्म देशका विभिन्न नदीमा गरी दुई हजार १४२ घडियाल छाडिएका छन् । गत आर्थिक वर्षमा विभिन्न नदीमा १३३ घडियाल छाडिएको थियो । नदीमा छाडिएका कतिपय घडियाल बाढीले बगाएर लैजाने भएकाले अपेक्षाकृत रूपमा सङ्ख्या बढ्न नसकेको उनको भनाइ छ ।
हाल प्रजनन केन्द्रमा ७१७ वटा घडियाल रहेका छन् । जसमध्ये ६५९ बच्चा, २८ अर्धबयस्क र ३० बयस्क छन् । केन्द्रमा हाल एउटा मात्र परिपक्व भाले घडियाल छ । गत वर्ष केन्द्रमा २३२ अण्डा सङ्कलन गरिएकामा २०२ अण्डा ह्याच भएका थिए । “अब भालेको सङ्ख्या बढाउने विषयमा छलफल भइरहेको छ । दिगो प्रजनन र सङ्ख्या वृद्धि आवश्यक छ”, थापाले भने । केन्द्रको वातावरण जङ्गली अवस्थासँग पूर्ण रूपमा मेल नखाँदा प्राकृतिकजस्तो गुणस्तरीय अण्डा उत्पादनमा समस्या देखिने गरेको छ ।
विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान र म्यान्मारलगायत देशमा समेत पाइने घडियाल हाल नेपाल र भारतमा मात्र सीमित भएका छन् । सन् १९४० को दशकमा विश्वमा करिब १० हजार रहेको घडियालको सङ्ख्या सन् १९७० सम्म आइपुग्दा दुई प्रतिशतमा झरेपछि संरक्षणमा चासो बढ्दै गएको हो । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण र माछा मार्ने गतिविधिका कारण घडियालको प्राकृतिक बासस्थान सङ्कटमा परेको छ ।
तपाईको प्रतिक्रिया