Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठखेलकुदटी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ

टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ


काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमको आयोजना गरी आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको हो ।

नेपाली टोलीले विश्वकप अघि श्रीलंका र भारतमा गएर अभ्यास शृंखला पनि खेल्ने भएकाले टोलीलाई आज नै बिदाइ गरिएको हो । नेपाली टोली आइतबार प्रस्थान गर्ने छ ।

बिदाइ कार्यक्रममा‌ बोल्दै क्यान सचिव पारस खड्काले नेपाली टोलीलाई‌ विश्वकपका लागि शुभकामना दिए ।

प्रशिक्षक स्टुअर्ट लले‌ पनि विश्वकपमा राम्रो गर्ने विश्वास व्यक्त गरे ।यस्तै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि टोलीलाई शुभकामना दिँदै तयारी राम्रो देखिएको र राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । ‘तयारी धेरै राम्रो देखिएको छ, कुनै प्रश्न छैन । भारतसँग कन्डिशन पनि मिल्छ । राम्रो प्रदर्शन गर्नुहोला, शुभकामना छ’, चन्दले भने।

कप्तान रोहित पौडेलले तयारी निकै राम्रो भएको बताए । ‘तयारी राम्रो भइरहेको छ । अभ्यासले पनि राम्रो बिल्डअप भएको जस्तो लाग्छ’, रोहितले भने, ‘सन् २०२५ एकदम राम्रो भएको थियो । आशा छ यो वर्ष पनि राम्रो हुने छ । हामी समग्र नेपालीलाई प्राउड फिल गराउने छौं ।’

नेपाली क्रिकेट टोलीले विश्वकपको‌ समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्ने तालिका छ । त्यसअघि श्रीलंका गएर श्रीलंका ‘ए’ अनि भारतमा गएर मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि अभ्यास खेल्ने छ ।

विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपालको टोली घोषणा भइसकेको छ ।

 



तपाईको प्रतिक्रिया