Techie IT
  • बुधबार, भदौ १७, २०८३ / Wednesday, September 2, 2026
गृहपृष्ठसमाचारविपद्‍मा उपलब्ध क्षमतामा मात्रै सरकार सीमित हुनु हुँदैन : रास्वपा

विपद्‍मा उपलब्ध क्षमतामा मात्रै सरकार सीमित हुनु हुँदैन : रास्वपा


१७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवामा गएको विनाशकारी बाढीलाई अकल्पनीय भनेको छ । बुधबार प्रतिनिधिसभामा बोल्दै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले मृतक संख्या एक हजार नाघिसकेको र हजारौँ अझै बेपत्ता रहेको बताए ।

विदेशी नागरिकसमेत सम्पर्कविहीन छन् । गाउँबस्ती, सडक, पुल, जलविद्युत् आयोजना र अन्य पूर्वाधारमा अकल्पनीय क्षति पुगेको छ । खोज तथा उद्धार अझै जारी छ । जलविद्युत आयोजनाका सुरुङ भित्र पुरिएका, दबिएका र फसेका नागरिकको उद्धार गर्ने प्रयास जारी छ ।

सुरुङभित्र मात्र होइन सुरुङ बाहिर पनि जटिल भौगोलिक बनोट तथा कठिन खोंचहरू भएका कैयौं ठाउँमा फसेका नागरिकहरूलाई उद्धार गर्ने र राहत पुर्याउिने प्रयास सहज रुपमा हुन नसकेको पराजुलीले बताएका छन्

यस्तो महाविपत्तिको सामना गर्नुपर्दा नेपालकै स्रोत साधन, प्रविधि र उद्धार क्षमता पर्याप्त नभएको यथार्थ स्वीकार्नुपर्ने उनको आग्रह छ ।

यद्यपि अभाव र सीमितताका बीच उपलब्ध स्रोत, साधन र प्रविधिको अधिकतम उपयोग गर्दै नागरिकको जीवन बचाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय प्रशासन, विपद् व्यवस्थापन संयन्त्रदेखि स्वयंसेवकसम्म अहोरात्र खटिएका छन् ।

नागरिकको जीवन रक्षाका लागि भएको सत्प्रयासप्रति सरकार र मैदानमा खटिएका सम्पूर्ण संयन्त्रलाई रास्वपा संसदीय दलका उपनेता पराजुलीले धन्यवाद दिए ।

उनले अगाडि भनेका छन्, ‘आजको आवश्यकता कमजोरी लुकाउने पनि होइन, भएका प्रयासलाई अवमूल्यन गर्ने पनि होइन,कमजोरी स्वीकार्दै उपलब्ध प्रत्येक सम्भावनालाई नागरिकको जीवन रक्षामा केन्द्रित गर्ने हो ।’

यहाँनेर उनले विषम परिस्थितिमा राज्यले आफूसँग भएका सीमित स्रोत–साधन र सरकारी संयन्त्र परिचालन गरेर मात्र आफ्नो जिम्मेवारी पूरा भएको ठान्न नहुने उनको आग्रह छ ।

‘आज सरकारलाई धन्यवाद दिँदै अझ दृढतापूर्वक भन्न चाहन्छु, उपलब्ध क्षमतामै मात्रैसीमित हुनु हुँदैन’ रास्वपा संसदीय दलका उपनेता पराजुलीले सरकारलाई भनेका छन्, ‘देशभित्र र बाहिर जहाँ ज्ञान, अनुभव, प्रविधि र सहयोग उपलब्ध छ, त्यसलाई जोडेर अन्तिम नागरिकको जीवन रक्षा र अन्तिम बेपत्ताको खोजी हुँदासम्म राज्यको सम्पूर्ण सामर्थ्य परिचालित रहनुपर्छ र भइरहनेछ भन्ने कुरामा पनि विश्वस्त छु ।’

उनका अनुसार राज्यभित्र र बाहिर रहेका विपद् व्यवस्थापनका भुक्तभोगी तथा अनुभवी व्यक्ति, जलविज्ञ, भूगर्भविद्, हिमनदी विज्ञ, उद्धार तथा सुरुङ विशेषज्ञ, चिकित्सक, इन्जिनियर, पूर्वसुरक्षाकर्मी, प्रविधिविज्ञ तथा अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका नेपालीहरूलाई समेत खुला अपिल गरेर राष्ट्रिय अभियानमा जोड्नुपर्छ ।

आवश्यकता पर्दा निजी क्षेत्र, विश्वविद्यालय, अनुसन्धान संस्था, नागरिक समाज र मित्रराष्ट्रसँग भएका विशेषज्ञता र प्रविधिसमेत तत्काल परिचालन गर्नुपर्छ। विपद्को घडीमा ज्ञान र अनुभवलाई जति छिटो उपयोग गर्न सकिन्छ त्यति धेरै नागरिकको जीवन रक्षा गर्न सकिन्छ। राज्यले यसलाई प्राथमिकतामा राख्नुपर्छ ।

यस्तो बेला राज्यका हरेक अंगको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा भएको उल्लेख गर्दै उनले थपे, ‘सरकार, संसद्, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र, सामाजिक संघसंस्था, विज्ञ समुदाय र नागरिक सबै एउटै उद्देश्यमा उभिएको अनुभूति पीडित परिवारले गर्न पाउनुपर्छ ।’

यसका लागि सरकारले कसलाई कहाँ परिचालन गरेको छ, कुन विशेषज्ञको सहयोग लिइएको छ, अन्तर्राष्ट्रिय समुदायसँग के सहयोग मागिएको छ, कहाँ उद्धार भइरहेको छ, कहाँ पुग्न बाँकी छ र आगामी घण्टामा राज्यले के गर्दैछ भन्ने स्पष्ट, तथ्यगत र नियमित सूचना सरकार प्रमुख वा जिम्मेवार उच्च तहबाट आमनागरिकलाई दिइरहनुपर्ने उनको आग्रह छ ।

सूचना केवल तथ्य सार्वजनिक गर्ने माध्यममात्र भएर यस्तो संकटमा त्यो नागरिक र राज्यबीच विश्वास कायम गर्ने महत्त्वपूर्ण सेतु पनि भएको उनले बताए ।

महाविपत्तिको सबैभन्दा कठिन घडीमा एउटा नागरिकले ‘म एक्लो छैन, मेरो राज्य मेरो खोजीमा छ, राज्यसँग भएको सम्पूर्ण शक्ति, ज्ञान, प्रविधि र संयन्त्र मेरो जीवन बचाउन परिचालित छ’ भन्ने अनुभूति गर्न पाउनुपर्ने उनको आग्रह छ ।

पराजुली भन्छन्, ‘त्यो अनुभूति पीडित र बेपत्ता परिवारको आत्मविश्वास हो, उद्धारकर्मीको ऊर्जा हो र संकटसँग जुध्ने सिंगो राष्ट्रको सामर्थ्य पनि हो ।

“साभार : अनलाइनखबर”



तपाईको प्रतिक्रिया