Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारनेतृत्वमाथि भण्डारीको कटाक्ष: राजा हाँसेर गए, नेता जोगाउन हेलिकप्टर चाहियो

नेतृत्वमाथि भण्डारीको कटाक्ष: राजा हाँसेर गए, नेता जोगाउन हेलिकप्टर चाहियो


काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्रप्रसाद भण्डारीले पूर्व राजा ज्ञानेन्द्र शाह हाँसेर मुकुट त्यागेर गएको स्मरण गराउँदै वर्तमान राजनीतिक नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता भण्डारीले जेन–जी आन्दोलनका क्रममा नेताहरूलाई जोगाउन हेलिकप्टर प्रयोग गर्नुपरेको अवस्थालाई प्रजातन्त्रको कमजोरीका रूपमा चित्रण गरे ।

उनले भने, “०६३/६३ सालको राजा, जसलाई हामीले तानाशाह भन्यौँ, उनले दरबारमा राजनीतिक साथीहरूलाई बोलाएर निशानी हस्तान्तरण गरे, श्रीपेच दिएर ‘अब तपाईंहरू राम्ररी बस्नुहोला’ भन्दै आफैँ गाडी चलाएर गए। तर आज हाम्रा नेतालाई जोगाउन हेलिकप्टर चढाएर सुरक्षित ठाउँमा राख्नुपरेको छ।”

यस्तो अवस्था साँचो प्रजातन्त्र नभएको संकेत भएको भण्डारीको टिप्पणी थियो। उनले नेतृत्वले आफ्नै वरिपरि घुम्ने व्यक्तिहरूलाई मात्र सत्ता सुम्पिँदा मुलुक सुशासनतर्फ अघि बढ्न नसक्ने उल्लेख गरे।

जेन–जी आन्दोलनले मुलुकको शासन प्रणाली र नेतृत्वको कमजोरी उजागर गरेको भन्दै नेता भण्डारीले लोकतन्त्रलाई जनउत्तरदायी बनाउन गम्भीर आत्मसमीक्षा आवश्यक रहेको धारणा राखे ।



तपाईको प्रतिक्रिया