Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारराजु पाण्डेले दिए काठमाडौं महानगरपालिकाबाट राजीनामा

राजु पाण्डेले दिए काठमाडौं महानगरपालिकाबाट राजीनामा


काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएका हुन्।

राजुनाथ पाण्डेका अनुसार माघ ३ गतेसम्म आफू पदमा बहाल रहने र त्यसपछि राजीनामा स्वतः लागू हुनेछ। ‘चार गतेबाट लागू हुने गरी राजीनामा दिएको हुँ, तीन गतेसम्म बहाल हुन्छु,’ उनले भने।

महानगर प्रहरी बलको नेतृत्व सम्हाल्दै आएका पाण्डेले कार्यकालका क्रममा अनुशासन, व्यवस्थापन र महानगरभित्रको सुरक्षासम्बन्धी कार्यमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

राजीनामाको कारण खुलाउँदै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीका लागि सक्रिय राजनीतिमा प्रवेश गर्न लागेको बताएका छन्। निर्वाचनको तयारीसँगै उनले सरकारी जिम्मेवारीबाट अलग हुने निर्णय गरेको बुझिएको छ।

राजुनाथ पाण्डे कुन दलबाट र कुन क्षेत्रबाट निर्वाचन लड्ने भन्ने विषय भने अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। यद्यपि, उनको राजनीतिमा प्रवेशलाई काठमाडौँको स्थानीय र राष्ट्रिय राजनीतिमा चासोका साथ हेरिएको छ।

उनको राजीनामापछि काठमाडौँ महानगर प्रहरी बलको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा महानगरपालिकाले छिट्टै निर्णय गर्ने अपेक्षा गरिएको छ।

राजुनाथ पाण्डेको राजीनामासँगै महानगर प्रहरी बलको प्रशासनिक संरचनामा पनि केही परिवर्तन आउने देखिएको छ।

 



तपाईको प्रतिक्रिया