Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल

ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल

एमाले-कांग्रेसका नेता संगठन त्यागेर बालेनको समर्थनमा


झापा ।  झापा क्षेत्र नम्बर–५ मा आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक सरगर्मी तीव्र बनेको छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत गढ मानिने यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को उम्मेदवारीले नयाँ राजनीतिक तरङ्ग सिर्जना गरेको हो ।

एमालेको बलियो पकड रहेको क्षेत्रमा पार्टीकै प्रभावशाली नेता–कार्यकर्ता बालेनतर्फ आकर्षित हुन थालेसँगै केपी ओलीको दशकौको साम्रज्य ढल्छ कि भन्ने चर्चा सुरु भएको छ ।

यसैक्रममा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडाले संगठन परित्याग गर्दै बालेन शाहलाई समर्थन गर्ने घोषणा गरेका छन्। उनको यो घोषणाले झनै चिन्ताको विषय उत्पन्न गरेको छ । खतिवडाले २०८२ माघ ७ गतेदेखि आफू राष्ट्रिय युवा संघ तथा नेकपा एमालेको संगठित सदस्य नरहेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

खतिवडाले लेखेका छन्, ‘परिवर्तनलाई आत्मसात् गर्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाएको छु।’ उनको निर्णयलाई दमकको स्थानीय राजनीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

उता एमाले मात्र होइन, नेपाली कांग्रेसभित्र पनि बालेनको उम्मेदवारीले भुकम्प नै ल्याएको छ। मंगलबार नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईले पनि बालेनलाई सघाउने घोषणा गर्दै पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्। उनले साधारण सदस्य समेत नरहने गरी कांग्रेस परित्याग गरेका हुन्।

राजनीतिक समर्थनसँगै बालेन शाहको चुनावी रणनीति पनि झापा–५ मा चर्चाको विषय बनेको छ।बुधबार बिहानदेखि दमकमा घरदैलो तथा मतदाता भेटघाट सुरु गरेका बालेनले परम्परागत व्यक्तिगत भेटघाटभन्दा फरक शैली अपनाएका छन्। उनले समूहगत भेटघाट प्रणाली लागू गर्दै प्रत्येक समूहलाई अधिकतम १० मिनेट समय दिने व्यवस्था गरेका हुन्।

अत्यधिक भीड, समय व्यवस्थापन र धेरै मतदातासँग छोटो तर प्रत्यक्ष संवाद गर्नका लागि यस्तो नीति अपनाइएको बालेनको सचिवालयले जनाएको छ। दमकस्थित रास्वपा कार्यकर्ता लक्की सिटौलाको निवासमा बास बसेका बालेनलाई भेट्न बिहानैदेखि मतदाताको ठूलो भीड लागेको थियो। काठमाडौँ महानगरपालिकाका पूर्व मेयरसमेत रहेका बालेनप्रति स्थानीय मतदाताको उत्साह उल्लेखनीय देखिएको छ।

यद्यपि, बुधबारका भेटघाटहरू परिचयात्मक संवादमै सीमित राखिएको जनाइएको छ।

रास्वपा झापा–५ का क्षेत्रीय संयोजक भेषराज भट्टराईका अनुसार बालेनको चुनावी अभियान औपचारिक रूपमा सुरु भइसकेको छ। विस्तृत कार्यक्रम तालिका सार्वजनिक नभए पनि झापापछि मोरङ, सुनसरी तथा पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङसम्म अभियान विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

यस क्षेत्रबाट निरन्तर विजयी हुँदै आएका ओलीलाई यसपटक नयाँ पुस्ताको समर्थन, दल परिवर्तनको लहर र फरक चुनावी शैलीसहित मैदानमा उत्रिएका बालेन शाहले कडा चुनौती दिने संकेत देखिएको छ।

एमाले र कांग्रेस दुवै दलका प्रभावशाली नेता–कार्यकर्ता बालेनतर्फ आकर्षित हुन थालेपछि झापा–५ को निर्वाचन केवल प्रतिस्पर्धा मात्र नभई राजनीतिक पुनर्संरचनाको संकेत का रूपमा हेरिन थालेको छ। यसले आगामी निर्वाचनलाई थप चासो, बहस र चर्चाको केन्द्रमा ल्याएको छ।



तपाईको प्रतिक्रिया