Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचाररवि लामिछानेको बहस सकियो,आजै आदेश आउन सक्ने

रवि लामिछानेको बहस सकियो,आजै आदेश आउन सक्ने


काठमाडौं ।रास्वपा सभापति रवि लामिछानेले आफ्नो मागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै दिएको निवेदनमाथको बहस सकिएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासका मुख्य न्यायाधीश बासुदेव आचार्य र न्यायाधीश ओमप्रसाद अर्यालको इजलासमा सुनुवाइ भएको हो ।

बिहीबार लामिछानेका तर्फबाट अधिवक्ताहरू नारायणदत्त कँडेल, महेन्द्र पाण्डे र दीपेन्द्र झाले बहस गरेका थिए । त्यस्तै सरकारी वकिलको कार्यालयका तर्फबाट उच्च सरकारी वकील कार्यालय, बुटवलका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठ र उपन्यायाधिवक्ता प्रकाश मरासिनीले बहस गरेका थिए । न्यायाधीशहरू फैसला लेख्न बसेकाले आजै आदेश आउन सक्ने बताइएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो बुझाएर थुनामुक्त हुन पाउँ भन्दै जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो । रुपन्देहीले रिहा नगरेपछि उनले भदौ ९ गते उच्च अदालत, तुलसीपुरको बुटवल इजलासमा निवेदन दर्ता गराएका थिए ।

बुटवलको सुप्रिम सहकारी ठगीमा लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए ।

पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन् । भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भने भैरहवा कारागारमै छन् ।



तपाईको प्रतिक्रिया