Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारमुख्यमन्त्रीमा नीतीश कुमारकाे रेकर्ड,१०औँ पटक लिए शपथ

मुख्यमन्त्रीमा नीतीश कुमारकाे रेकर्ड,१०औँ पटक लिए शपथ


एजेन्सी।
जनता दल (युनाइटेड) का प्रमुख नीतीश कुमारले प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) का वरिष्ठ नेताहरूको उपस्थितिमा इतिहास रच्दै आज १०औँ पटक बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन्।

मुख्यमन्त्री नीतीश कुमारसँगै २६ जना मन्त्रीले पनि शपथ लिएका छन् । २६ जना मन्त्रीमध्ये तीन जना महिला र एक जना मुस्लिम विधायक छन् ।

शपथ ग्रहण पटनाको ऐतिहासिक गान्धी मैदानमा सम्पन्न भएको हो । बिहारमा नीतीश कुमारले सन् २००५, २०१० र २०१५ मा पनि सरकार गठनको घोषणा गरेका थिए।

हिजो पटनामा बसेको नयाँ विधायकहरूको बैठकमा जेडीयू विधायक दलले सर्वसम्मतिले नीतीश कुमारलाई पहिलो पटक आफ्नो दलको नेताका रूपमा चुनेको थियो । यसपछि एनडीए विधायक दलले पनि आज उहाँलाई सर्वसम्मतिले नेता चयन गर्दै नयाँ सरकार गठनको बाटो खुला गरेको हो ।

भारतीय जनता पार्टी (भाजपा) को प्रदेश मुख्यालयमा बसेको बैठकले सम्राट चौधरी र विजयकुमार सिन्हालाई क्रमशः भाजपाको विधायक दलको नेता तथा उपनेता चयन गरेको थियो । बिहारमा विधायक दलको नेतृत्व चयनका लागि केन्द्रीय पर्यवेक्षकका रूपमा आएका उत्तर प्रदेशका उप–मुख्यमन्त्री केशवप्रसाद मौर्यले दुवै नाम प्रस्ताव गर्नुभएको थियो जसलाई बाँकी सांसद तथा विधायकहरूले समर्थन जनाएका थिए ।

७४ वर्षीय नीतीश कुमार सन् २०१४–१५ बीच नौ महिनाको छोटो अवकाश बाहेक सन् २००५ नोभेम्बरदेखि लगातार मुख्यमन्त्री पदमा रहँदै आएका छन् ।

यसपटक एनडीएले २ सय ४३ मध्ये २ सय २ सिट जित्दै ऐतिहासिक बहुमत हात पार्याे । महागठबन्धन भने ३५ सिटमा सीमित रह्यो । तीन चौथाइ बहुमतसहित एनडीएले राज्यमा विगत १५ वर्षपछि दोहोरो इतिहास बनाएर २ सय भन्दा बढी सिट जित्ने उपलब्धि पुनः दोहोर्याएकाे छ । सन् २०१० मा पनि गठबन्धनले २०६ सिट जितेको थियो ।

 



तपाईको प्रतिक्रिया